Sunday, October 24
Shadow

साँघुरो डेरादेखि आफ्नै आलिसान घरसम्मको यात्रा, यस्तो छ अभिनेत्री सरिता लामिछानेको घर संघर्ष !

पुरा खबर,

म झापामा जन्मिएँ, उतै हुर्किएँ । ऋषि लामिछानेसँग बिबाह भएपछि मेरो काठमाडौं बसाई सुरु भयो । सुरुमा बानेश्‍वरमा एउटा कोठामा बस्थ्यौं ।

२०५४ सालको कुरा थियो, महिनाको ८ सय रुपैयाँ तिरेर एउटा कोठा भाडामा लिएका थियौं । त्यो एउटा कोठा पनि हाम्रो लागि सिङ्गो घरजस्तै थियो ।

त्यही कोठाभित्र एउटा छेउमा भान्छा, अर्को छेउमा बेड थियो । एउटा सानो सोफा पनि राखेका थियौं, त्यही हाम्रो लिभिङ रुम बनेको थियो । भित्तामा पुजा गर्नका लागि मन्दिर बनाएकी थिएँ ।

यसको मतलब, हामीले एउटै कोठालाई पनि सिंगो फ्ल्याट वा घर सरह नै बनाएर बसेका थियौं ।हाम्रो डेरा भुइँ तलामा थियो । बाहिर फुलका गमला राखेका थियौं । फुलका गमलाले बगैंचा जस्तै बनेको थियो । मलाई सफा सुग्घर चाहिन्छ, समानहरु मिलाएर राखेको हुनुपर्छ । एउटा कोठा भएपनि सिंगारेर चिटिक्क पारेकी थिएँ ।

सुरुमा मैले स्पेस टाईम टिभीमा काम गर्न थालेँ । मेरो जागिरे जीवन त्यहीँबाट सुरु भएको हो । टिभीमा काम गर्न थालेपछि मेरो जीवनमा पनि नयाँ अध्याय सुरु भयो । अर्थात, मेरो जीवनको महत्वपूर्ण टर्निङ प्वाइन्ट बन्यो ।काम गर्दै जाँदा च्यानल नेपालको पहिलो होस्टका रुपमा चिनिन पुगेँ ।

मैले कहिल्यै सचेकी पनि थिइन कि जीवनमा अभिनय गर्छु, कलाकार बन्छु भन्‍ने । तर, भइदियो त्यस्तै । अभिनय गर्न थालेँ, कलाकार पनि भएँ । मेरो श्रीमानको सोँच भने पहिलेदेखि नै निर्देशक बन्‍ने थियो । र, पछि निर्देशक पनि बन्‍नुभयो ।

मेरो कलाकारिताको यात्रा टेलिश्रृखला ‘मुक्ति’बाट सुरु भयो । मलाई भाग्यले पनि साथ दिएको हुनुपर्छ, मुक्तिमा अभिनय गर्ने वित्तिकै दर्शकमाझ परिचित भइहालेँ । मेरो अभिनय सबैले रुचाइदिनुभयो ।

अब हामीलाई एउटा कोठाले पुग्‍न छाड्यो । हामीले सोही घरमा दुईवटा कोठा भाडामा लियौं, मासिक २५ सय भाडा तिर्ने गरी । मेरो अभिनय दर्शकले रुचाउन थालेपछि धेरै टेलिसिरियलमा अफर आउन थाले ।

पछि, श्रीमानले नै निर्देशन गरेको ‘परिचय’ सिरियल खेल्न थालेँ । श्रीमान निर्देशक र म निर्मात्री तथा कलाकार भएर काम गरेको पहिलो होम प्रोडक्सन थियो, परिचय । परिचय सिरियल दर्शकमाझ निकै लोकप्रिय बन्यो । धेरैले रुचाउनुभयो । मेरा लागि पनि परिचय सिरियल अर्को टर्निङ प्वाइन्ट बन्‍न पुग्यो ।

हामी आफै सिरियल बनाउन थालेपछि ठूलो घरको आवश्यकता पर्न थाल्यो । किनभने, सुटिङ घरभित्र गर्नुपर्थ्यो । अरुको घरमा कति सुटिङ गर्नु । हामीले निधो गर्यौ, सुटिङ पनि गर्न मिल्ने र बस्‍न पनि मिल्ने घर खोजौं ।

बानेश्‍वरमै मासिक २५ हजार रुपैयाँ तिर्ने गरी घर भाडामा पाइयो । त्यो घरमा सिरियलको सुटिङ पनि हुन्थ्यो । र, हाम्रो बसाई पनि त्यहीँ भयो ।हाम्रो आर्थिक अवस्था पनि सुधार हुँदै जान थाल्यो । र, चाहानाहरु पनि विस्तारै बढ्दै जान थाले ।

हामीले सबैभन्दा पहिला घर जोड्नुपर्थ्यो । तर, मलाई गाडी किनेर चढ्न मन लाग्यो । मैले आमालाई गाडी किन्छु है भनेर सोधेँ । तर, आमाले सिधै अस्वीकार गर्नुभयो । गाडी किनेर पैसा खर्च गर्न दिनु भएन । किनभने हामीलाई गाडी भन्दा पहिला आवासको आवश्यकता थियो ।

आमाले भन्‍नुभयो, ‘अनावश्यक ठाउँमा पैसा खर्च गर्नु हुँदैन, पैसा लगानी गर्ने भनेको माटोमा हो, माटोमा गरेको लगानी कहिल्यै खेर जाँदैन ।’मलाई त्यतिबेला आमाले के भन्‍नुभयो होला जस्तो लागेको थियो । तर, गहिरिएर मनन गर्दा आमाले त राम्रो सुझाव दिनुभएको रहेछ । हामीले कपनमा ७ आना जग्गा किन्यौं, १७ लाख रुपैयाँ खर्चेर ।

जग्गा किनेपछि घर त बनाउनु पर्यो । केही पैसा आफ्नै बचत थियो, केही पैसा जुगाड गरेर ठूलै घर बनायौं । तर, हामीलाई ठूलो घर बनाएपछि पछुतो भयो । किनभने, ठूलो घरले धेरै दुःख दिने रहेछ । घर सरसफाई गर्नेदेखि लिएर मर्मत–सम्भार, पानी, बत्ती, ढल निर्माण । झन्झटै झन्झट ।

हामीले आफ्नो परिवार र आवश्यकता हेरेर घर बनाउनुपर्नेमा ठुलो घर बनाएर गल्ती गरेको महशुस भयो । ०७० सालमा त्यो ठुलो घर बेचेर सरस्वतीनगर चलचित्र विकास बोर्ड (गोपीकृष्ण हलनजिकै) नजिकै सानो घर किनेर सर्यौ ।

त्यहाँ घर किन्दा ठाउँ निकै शान्त र राम्रो थियो । तर, अहिले बस्ती बाक्लिदै जाँदा अशान्त बनेको छ । छिमेकीको कुकर भुकेर रातभरि सुत्‍न दिँदैन । घर त छ, तर शान्त छैन । घर पुगेर आरामसँग सुत्छु भन्‍न मिल्दैन ।दिनभरी काममा हिँडेर साँझ थकान मेट्ने, आराम गर्ने ठाउँ हो, घर । तर टोलमा कुकुर भुकेर घरमा रातभरी आरामले सुत्‍न पाइएन भने के अर्थ भयो ।

नगरपालिकाले समाजलाई शान्त बनाउन स्थानीयहरुका लागि केही नीति नियमहरु बनाएर लागू गर्नुपर्छ । भोलि गाह्रो सारो पर्दा चाहिने समाज हो, छिमेकी हुन् । त्यसैले सबै मिलेर बस्‍नुपर्छ । एकले अर्कोलाई डिस्टर्व हुने काम गर्नु हुँदैन ।आवासीय क्षेत्रभित्र सरकारी कार्यलयहरु पनि राख्‍नु हुँदैन । नजिकै सरकारी कार्यालय हुँदा र त्यहाँ भिडभाड हुँदा धेरै कठिन परिस्थितीहरु सामना गर्नुपरेको छ ।

सबैले एक घर एक बोटबिरुवा लगाउनुपर्छ । जग्गा किनेको भए कम्पाउन्ड लगाएर राख्‍नुपर्छ ताकी कसैले फोहोर फालेर डम्पिङ साइट बनाउन नपाओस् ।घर किन्‍ने र बनाउनेलाई सुझावम भन्छु, कसैले पनि लहडमा ठूलो घर बनाउन हुँदैन । आफ्नो परिवार र आवश्यकता हेरेर ठिक्कको घर बनाउनुपर्छ ।

कुनै पनि ठाउँमा घर किन्दा होस् या बनाउँदा पहिले त्यहाँको समुदाय र छरछिमेकी बुझ्नुपर्छ ताकी पछि कुनै समस्या नआओस् ।आफुले बनाउँदै गरेको घरनजिक के कस्ता सुविधाहरु उपलब्ध छन्, ति सेवा सुविधाका बारेमा जानकारी लिनुपर्छ । जस्तै, हस्पिटल, बच्चाहरुका लागी स्कुल, कलेज, यातायात सुविधा, सपिङ मार्ट लगायत बुझेर घर बनाउँदा राम्रो हुन्छ ।

घर हुनेहरु अनुशासित पनि हुनुपर्छ । घर भयो भन्दैमा होहल्ला गर्न हुदैन, आफ्ना छिमेकीको बारेमा पनि सोच्‍नुपर्ने हुन्छ ।आफ्नो घर वा जग्गाको कम्पाउन्डमा बलियो पर्खाल लगाउनुपर्छ ।एक घर एक बोट अभियानलाई तिब्रताका साथ पालना गर्नुपर्छ । यो खबर साभार गरियको हो ।