Monday, October 25
Shadow

माधव नेपालले भने- राजीनामा दुई-चार दिनलाई टर्‍यो ! अब हुने भयो यस्तो

प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबार वार्तापछि बरिष्ठ नेता माधवकुमार नेपालले
सांसदहरूको सामूहिक राजीनामा तत्काललाई टरेको बताएका छन्। 

चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा अध्यक्ष ओलीसँग  झन्डै ४ घन्टा वार्ता गरेपछि उनले तत्कालाई
राजीनामाको स्थिति टरेको बताएका हुन्।
पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेपालले भने, ‘राजीनामा दुई चार दिनलाई टर्‍यो।’ 

उनले फागुन २८ को निर्णय खारेज गर्ने २०७५ जेठ २ मा फर्कने प्रक्रियाबारे निरन्तर छलफल गर्ने बताए।’त्यो छलफल
अब विभिन्न तहमा हुन्छ,’ नेपालले भने,‘फागुन २८ को निर्णय फिर्ता गर्ने २०७५ जेठ २ मा फर्कने प्रकियाका बारेमा निरन्तर
छलफल गर्ने सकारात्मक सोचेर कुराकानीलाई जारी राख्ने । र, मिल्ने दिशामा अगाडि बढ्ने कुरा भयो।’

वार्तापछि प्रधानमन्त्री ओलीले भने संवाददातालाई कुनै पनि प्रतिक्रिया दिएनन्। आज बहुमतीय सरकार बनाउनका लागि
राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने तयारी गरिरहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले अब त्यो सम्भावना लगभग
टरेको निष्कर्ष निकालेका छन्।

‘एमालेमा माधवकुमार नेपाल पक्षले निर्णय गर्न नसकेपछि र जसपाभित्रको अन्यौल कायमै रहेपछि दुई वा दुईभन्दा बढी
दल मिलेर बहुमतको सरकार बनाउने सम्भावना सकिएको छ,’ कांग्रेसका एक शीर्ष नेताले सेतोपाटीसँग भने।
माओवादी केन्द्रका नेताले पनि सरकारमा दाबी गर्ने आफूहरूको सम्भावना लगभग सकिएको बताए।
‘अब हामीले आशा मार्‍यौं,’ ती नेताले भने।

कांग्रेस, माओवादी केन्द्रलाई आज बिहानसम्म माधव नेपाल
समूहका २० जना सांसदले राजीनामा दिन्छन् भन्ने आश थियो।

नेपाल समूहले कांग्रेस-माओवादीलाई त्यसैमा आश्वस्त बनाएको थियो। तर नेपाल समूहभित्र कुरा नमिलेपछि र
पार्टीभित्रको समस्या मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयत्न सुरू गरेपछि राजीनामा टरेको देखिएको छ।

जसपामा पनि कांग्रेस-माओवादी केन्द्रको गठबन्धनमा नजाने महन्थ ठाकुर र राजेन्द्र महतोको अडान कायमै छ।  माधव
नेपाल पक्षले राजीनामा नदिएको अवस्थामा जसपाभित्र कांग्रेस-माओवादीसँग मिलेर सरकार बनाउनु पर्ने पक्षमा
सांसदहरूको बहुमत देखिन सकेको छैन।

कांग्रेस-माओवादीले औपचारिक रूपमा भने सरकार नबनाउने घोषणा गरिसकेका छैनन्। माधव नेपाल पक्षले
प्रधानमन्त्री ओलीलाई आफ्ना माग पूरा गर्न दिउँसो ४ बजेसम्मको डेडलाइन दिएको थियो।

ओली-नेपालबीचको वार्ताको परिणाम उनीहरू कुरिरहेका छन्। अन्तिम निर्णय लिन कांग्रेसले पदाधिकारी बैठक
बोलाएको छ भने माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ।

प्रधानमन्त्री ओलीले संसदमा बहुमत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २
अनुसार सरकारमा दाबी गर्न बिहीबार ९ बजेसम्मको समय दिएकी छन्।

यो समयभित्र बहुमतको सरकारमा कसैले दाबी गर्न नसकेमा राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को ३ अुनसार
संसदमा सबैभन्दा ठूलो दलको नेतृत्वमा अल्पमतको सरकार बनाउने छन्। 
यो धाराअनुसार प्रधानमन्त्री ओलीले नै फेरि प्रधानमन्त्री नियुक्त हुनेछन्। उनले प्रतिनिधि सभामा तीस दिनभित्र 
विश्वासको मत लिनु पर्ने छ। विश्वासको मत नपाए उनी पदमुक्त हुनेछन्।
सेतोपाटीबाट साभार